दाङ, १३ असार। दाङमा आजदेखि सुनचाँदीका पसलहरू अनिश्चितकालका लागि बन्द भएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा बहुधातुमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा व्यवसायीहरूले शुक्रबारदेखि आन्दोलनलाई थप कडा बनाउँदै पसल बन्द गरेका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त आह्वानमा देशभरका सुनचाँदी पसलहरू एकैसाथ बन्द भएका छन्। सोही अनुसार तुलसीपुरमा पनि बिहानैदेखि सबै पसलका शटर बन्द भएका छन्।
तुलसीपुर दाङ सुनचाँदी व्यवसाय संघका अध्यक्ष हरिकृष्ण विकका अनुसार अहिले व्यवसायीहरू पसल बन्द गरेर बैठकमा बसेर विरोध कार्यक्रमको तयारी गर्दै छन्।
“हामी पसल बन्द गरेर छलफलमा छौं,” उनले भने, “अव्यवहारिक कर फिर्ता लिन पटक–पटक सरकारलाई ध्यानाकर्षण गरायौं तर सुनुवाइ भएन। अब अझै सशक्त र व्यवस्थित दबाबमूलक कार्यक्रम अघि बढाउँछौं।”
व्यवसायीहरूले करका कारण ग्राहक र व्यवसाय दुवै प्रभावित हुने भन्दै चाँडै करका व्यवस्था संशोधन गर्न सरकारलाई चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस