काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्।
देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले खड्कालाई बुझाएका हुन्। उनका अनुसार यो संख्या १४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ दिशा दिन विशेष महाधिवेशन आवश्यक रहेको बताए। उनले यो पहल पार्टीभित्र विवाद होइन, स्वर्गीय नेता सुवर्णशम्शेर राणाले अपनाएको असल अभ्यासलाई पुनःस्थापित गर्ने उद्देश्यले गरिएको स्पष्ट पारे।
जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा आमूल नेतृत्व परिवर्तनको माग बढेको भन्दै नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका थिए।
पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित समयमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा रहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस