काठमाडौँ, १ कार्तिक । नेपाल प्रहरीले अपहरण र शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भारत पञ्जाबका २४ वर्षीय परमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूले भारत हरियाणाका २६ वर्षीय अंकित कुमारलाई अष्ट्रेलिया पठाइदिने प्रलोभनमा पारेर नेपाल ल्याई बन्धक बनाएको जानकारीका आधारमा पक्राउ गरिएको हो।
दुवै जनाले पीडितलाई सुन्धारास्थित होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर २० लाख रुपैयाँ फिरौती मागेको प्रहरीको भनाइ छ।
सूचनाको आधारमा शुक्रबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।
प्रहरीले उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस