after_navbar

निर्वाचन सफलताका लागी सबै पक्षको ऐक्यबद्धता आवश्यक छ : प्रचण्ड


कार्तिक ०२, २०८२


काठमाडौँ,१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

ad

दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिले देश जटिल परिस्थितिबाट गुज्रिरहेको बताउँदै राष्ट्रहितका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मीको ऐक्यबद्धता अपरिहार्य रहेको उल्लेख गरे।

उनले भने, “संविधान र लोकतन्त्र जोगाउने सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी फागुन २१ गतेको निर्वाचन हो। त्यसलाई सफल पार्न सबै पक्षले साझा प्रतिबद्धता जनाउनुपर्छ।”

पूर्वप्रधानमन्त्री दाहालले अन्तरिम सरकार तोकिएको मितिमा नै निर्वाचन गराउन गम्भीर रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

जेनजी आन्दोलनका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उनले भने, “निर्वाचनबाट आउने नयाँ संसद्ले संविधान परिमार्जनको प्रक्रिया अगाडि बढाउनेछ, जनताको अपेक्षा पूरा गर्न हामी तयार छौँ।”

उनका अनुसार आसन्न निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गर्नु मुलुकको आवश्यकता हो।

समाजवादी मोर्चामा आबद्ध वाम शक्तिबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिँदै दाहालले लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू पनि एउटै मोर्चामा आउनुपर्ने बताए। उनले जेनजी आन्दोलनलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारी भन्दै भने, “भदौ २३ गतेको आन्दोलनले युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थितिको प्रमाण प्रस्तुत गरिसकेको छ, उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन्।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="