after_navbar

गंगाले दिइन् सचिवालयबाट राजिनामा


कार्तिक ०४, २०८२


काठमाडौ,३ कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।

ad

गंगाले सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामाको जानकारी गराएकी हुन्। उनले आफू पार्टीकी जिम्मेवार कार्यकर्ता भएर निरन्तर सक्रिय रहने बताएकी छन्।

उनका अनुसार पछिल्लो समय आफूलाई देखाएर बुबा प्रचण्ड र माओवादी केन्द्रविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेकाले सचिवालयको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेकी हुन्।

गंगाले लेखेकी छन्, “निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।”

उनले स्टाटसमा लेखेकी छन्, “भाइ प्रकाश दाहालको निधन र आमा सीता दाहाल बिरामी भएपछि पार्टी नेताहरूको सल्लाहमा म सचिवालयमा रहेर बुवालाई सहयोग गर्न आएको थिएँ। सधैं निस्वार्थ भावले काम गरेँ तर जति राम्रो गर्न खोजे पनि विवादमा तानिनुपर्‍यो।”

गंगाले केही संचार माध्यमहरूले आफूमाथि गरेको ‘कुप्रचार’ र ‘भ्रामक समाचार’प्रति असन्तुष्टि जनाउँदै लेखेकी छन्, “माथि निरन्तर प्रहार भइरहेछ। कहिले लाखौंको ब्याग भनेर, कहिले लाखौंको घडी भनेर लेखिन्छ, तर मसँग त्यस्ता वस्तुहरू नै छैनन्। साथीहरूले दिएको सानो उपहार पनि अब छैन, जलेर खरानी भइसकेको छ।”

उनले सचिवालयबाट बाहिरिए पनि पार्टीप्रति आफ्नो प्रतिबद्धता जारी रहने स्पष्ट पार्दै लेखेकी छन्, “पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु।”

राजीनामा सँगै उनले सबै पार्टी नेता, कार्यकर्ता र नागरिकप्रति आभार प्रकट गर्दै दिपावली, छठ र नेपाल संवत् लगायतका पर्वको शुभकामना पनि दिएकी छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="