काठमाडौ,११ कार्तिक । प्रहरी कुटपिटमा संलग्न अभियोगमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौंको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई हाल काठमाडौंको मनोमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले बताए।
पक्राउ परेकाहरुले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुंगामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आन्दोलनकारीको आक्रमणबाट महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको ज्यान गएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस