after_navbar

हतियार देखाएर लुटपाट गर्ने दुईजना पक्राउ


कार्तिक १४, २०८२


काठमाडौ, १३ कार्तिक । प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

ad

पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीका अनुसार उनीहरूलाई गएराति पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ तारकेश्वर–५ गोलढुङ्गा फूलबारी गेट नजिक बा.प्र.०२–०५० प.१६०२ नम्बरको मोटरसाइकल खोलाकिनारमा रोकेर बसेका बेला बा.४२ प.४०६९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले धारिलो हतियार देखाई कालो झोला लुटी फरार भएका थिए।

घटनापछि प्रहरी वृत्त बालाजुबाट पीडितसँग समन्वय गर्दै खोजतलास सुरु गरिएको थियो। पीडितले दिएको हुलियाका आधारमा अस्थायी प्रहरी चौकी तीनपिप्लेबाट खटिएको टोलीले लुटपाटमा संलग्न दुवै जनालाई लुटिएको झोलासहित नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ।

प्रहरीले उनीहरूको साथबाट लुटिएको झोलासँगै बा.प्र.०२–०५० प.१६०२ नम्बरको बिलबुक, मोबाइल चार्जर, घरको चाबी, रोलेक्स लेखिएको घडी, नगद रु ३,०००, खुकुरी, रेड्मी कम्पनीको मोबाइल, बोबो लेखिएको कालो झोला, ट्रामाडोल लेखिएको लागुऔषध ३० थान र बा.४२ प.४०६९ नम्बरको रातो–कालो मोटरसाइकल बरामद गरेको जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूमाथि प्रहरी वृत्त बालाजुमा राखी सोधपुछ भइरहेको र थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="