after_navbar

रवि र छविलालको मुद्दाको सुनुवाइ आजपनि स्थगित


कार्तिक १४, २०८२


काठमाडौ,१३ कार्तिक । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

ad

उनीहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुने कार्यसूची प्रकाशित भएको थियो। तर, जोशीका तर्फबाट आजको सुनुवाइ स्थगित गरिपाउने निवेदन परेकाले कार्यसूची स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

‘अब अर्को बिहीबार साप्ताहिक पेशी पर्छ, रवि र छविलाल दुवैका तर्फबाट स्थगितको निवेदन नआए सुनुवाइ हुनेछ,’ कुँवरले भने।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो।

लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनामुक्त भई मुद्दा लड्न अनुमति मागेका थिए। सो सम्बन्धमा उच्च अदालतले रविसँगै जोशीको समेत फाइल पेश गर्न आदेश दिएको थियो।

यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम बुझाए पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते सुनुवाइ गर्दै लामिछानेको रिहा गर्ने माग अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी बैंक जमानतसहित निवेदन दिएका थिए।

जोशीले पनि सोही रकमबराबरको जमानत पेश गरेका थिए। तर दुवैजनाको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएकाले अदालतले उनीहरूलाई रिहा गर्न नमिल्ने आदेश जारी गरेको थियो।

हाल पुर्पक्षका लागि दुवै जना कारागारमा छन्। भैरहवा कारागारमा रहेका लामिछानेलाई हालै ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भने भैरहवा कारागारमै रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="