after_navbar

बिपी राजमार्ग पुनर्निर्माणमा जापानको २ अर्ब ६० करोड अनुदान


कार्तिक १४, २०८२


काठमाडौ,१३ कार्तिक । बिपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता गरिएको छ।

गत असोजमा आएको बाढी र पहिरोका कारण क्षति पुगेका विभिन्न खण्डहरूको पुनर्निर्माणका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ६० करोड रुपैयाँ बराबरको (२ अर्ब ८० करोड जापानी येन) अनुदान सहायता प्रदान गर्ने भएको हो।

महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म फैलिएको १५९ किलोमिटर लामो बिपी राजमार्ग नेपालका प्रमुख राष्ट्रिय राजमार्गमध्ये एक हो। उक्त राजमार्ग पनि जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो।

गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण राजमार्गका विभिन्न भागहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, विशेष गरी रोशी नदी आसपासका क्षेत्रहरू पूर्ण रूपमा नष्ट भएका थिए।

अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।

अर्थमन्त्री यादव खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार भएको उल्लेख गर्दै प्रदान गरिएको अनुदान नेपाल–जापान मित्रता र सहकार्यको महत्वपूर्ण प्रतीक भएको बताए।

त्यस्तै, जापानी राजदूत महामहिम तोरु माएदाले यो अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरूको पुनःस्थापना र मर्मत कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

data-href="