after_navbar

आज हरिबोधिनी एकादशी: भगवान् विष्णु र तुलसीको विवाह र पूजा


कार्तिक १६, २०८२


ad

काठमाडौ,१५ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह गरी विशेष पूजा गर्दै हरिबोधिनी एकादशी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई तुलसी–विवाहको दिनका रूपमा पनि चिनिन्छ।

धार्मिक विश्वासअनुसार आसार शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिन क्षीरसागरमा शयनमा गएका भगवान् विष्णु आजको दिन (हरिबोधिनी एकादशी)मा ब्यूँतिने भएकाले यसलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिनालाई ‘चातुर्मास’ भनिन्छ, जस अवधिमा विवाह, ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा रहिआएको छ।

यस अवधिमा भक्तजनले तुलसीको व्रत बस्दै विशेष पूजा गर्छन्। आजका दिन घर–घरमा रोपिएको तुलसीको मठ गाईको गोबर र रातो माटोले पोतेर फूलमाला र बत्तीले सजाइन्छ। त्यसपछि तुलसीको भगवान् विष्णुको प्रतीक दामोदरसँग विधिपूर्वक विवाह गरिन्छ। मठ नजिकै निगालाको लिङ्ग गाडी विष्णुको प्रतीकका रूपमा पूजा गर्ने प्रचलन छ।

धर्मशास्त्रविद् प्रा.तोयराज नेपालका अनुसार हरिशयनी एकादशीदेखि आजसम्म पूजित तुलसीको उद्यापन अग्निस्थापन विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ। आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्मका दिनहरूमा पनि अग्निस्थापन विधिबाट पूजा गर्न सकिने शास्त्रीय वचन रहेको उनलेे बताए ।

तुलसीको धार्मिक मात्र होइन, वैज्ञानिक महत्त्व पनि छ। तुलसीको सुगन्धले वातावरण शुद्ध पार्ने, रोगाणु नाश गर्ने र सर्पजस्ता विषालु जीव टाढा राख्ने विश्वास छ। तुलसीका पात र फूलको रस रुघाखोकी, औलो लगायतका रोगका लागि औषधीय गुण भएको प्रमाणित भइसकेको छ। तुलसीको चिया सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने बताइन्छ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार कात्तिक महिनामा तुलसीको माला लगाउँदा र भगवान् विष्णुलाई एक लाख तुलसीपत्र अर्पण गर्दा मनोकामना पूरा हुने विश्वास छ। गरुड पुराणका अनुसार भगवान् विष्णुलाई एउटा तुलसीपत्र अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल प्राप्त हुन्छ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी नगरपरिक्रमा गराउने परम्परा पनि छ। रातभर ‘गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ, तपाईँ उठे जगत् उठ्छ’ भन्दै शंख, घन्टा र ढोल बजाएर भगवान् विष्णुलाई जगाउने चलन छ।

यस दिन किसानहरूले उखुको बोट तुलसी मठमा गाड्ने र अन्न नखाई सखरखण्ड, पिँडालु, वनतरुल जस्ता फलाहार ग्रहण गर्ने गर्छन्। यस्तो व्रतले पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। ठूलो एकादशीका नामले पनि परिचित आजको व्रतले हजार अश्वमेध र राजसूय यज्ञ बराबरको फल दिने शास्त्रीय मान्यता छ।

कात्तिक महिनाभर भगवान् विष्णुको भक्तिपूर्वक आराधना, स्नान, दान, जप र होम गर्नाले सयौं जन्मका पापबाट मुक्ति मिल्ने ग्रन्थहरूमा उल्लेख छ।

देशभरका नारायण मन्दिरहरूमा आज विशेष पूजा, हवन र आराधना गरी हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिभावपूर्वक मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="