धनगढी,१५ कार्तिक। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणको माग गर्दै स्थानीय बासिन्दाले दबाबमूलक आन्दोलनको तयारी गरेका छन् ।
दुई वर्षअघि स्थानान्तरणको प्रक्रिया सुरु भएको भनिए पनि हालसम्म कुनै प्रगति नदेखिएपछि शुभकामना टोल विकास संस्थाको अगुवाइमा स्थानीयले अर्को सातादेखि चरणबद्ध आन्दोलनको तयारी गरेका हुन् ।
टोलका अध्यक्ष दीर्घराज ओझाका अनुसार घनाबस्तीबीच रहेको डिपोका कारण सुरक्षाको संवेदनशीलता अत्यधिक बढेको छ । “डिपो नजिकै ८७ घरधुरीमा ३५० भन्दा बढी मानिस बसोबास गर्छन् । पेट्रोलियम ट्यांकको नजिकै घर भएकाले सधैं त्रासमा बाँच्नुपरेको छ,” उनले भने ।
स्थानीय धर्मसिंह ऐरले राति पनि डिपोमा आगलागीको डरले निद्रै नपर्ने बताउँदै पटकपटक सरोकारवालालाई आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।
नजिकै विद्यालय, अस्पताल र व्यावसायिक भवन भएकाले जोखिम झनै बढेको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले पनि डिपोलाई सुरक्षित स्थानमा सार्न निगमलाई पटकपटक आग्रह गरिसकेको बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस