काठमाडौ,१६ कार्तिक । अराजक र हिंसात्मक अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल प्रहरीको निगरानीमा परेका छन्।
हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतका नाम लिँदै भुसालले विभिन्न व्यक्तिहरूविरुद्ध अपशब्द र धम्कीपूर्ण टिप्पणी गरेका हुन्।
शनिबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भुसालले गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘हत्यारा’को संज्ञा दिएका थिए। सो घटनामा सुरक्षाकर्मीको गोली लागी १९ जनाको मृत्यु भएको थियो।
भुसालले सरकारले ओली र लेखकलाई कारबाही नगरे आफूहरू नै कारबाहीका लागि अगाडि सर्ने चेतावनीसमेत दिए। उनले ‘कारबाहीका लागि उनीहरूको घरमै जाने’ धम्की दिएका छन्। त्यससँगै, हालकी प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भन्ने र गृहमन्त्री अर्याललाई अपशब्द प्रयोग गर्ने गरी अभिव्यक्ति दिएका थिए।
उनले बालुवाटार माथि ‘मिसाइल राखेको’ दाबी गर्दै कोही नबच्ने गरी धम्की पनि दिएका छन्। साथै, आगामी फागुनमा हुने भनिएको निर्वाचन प्रत्यक्ष कार्यकारी प्रमुखसहित हुनुपर्ने, नभए चुनाव हुन नसक्ने बताएका छन्। उनले मेयर बालेन शाहमाथि पनि जेनजी आन्दोलनका माग पूरा नगरेको भन्दै आक्रोश पोखेका छन्।
भुसालले सरकारविरुद्ध माइतिघर मण्डलामा भेला भएर प्रदर्शन गर्न आह्वान गरेका छन्।
नेपाल प्रहरीका अनुसार भुसाल विवादित पात्र हुन्। उनलाई गत असोज २३ गते माइतिघरमा प्रदर्शन गर्ने क्रममा पक्राउ गरिएको थियो। प्रहरी अस्पतालको मेडिकल रिपोर्टमा उनले गाँजा सेवन गरेको पुष्टि भएपछि उनका दाजु सागरले सुधार केन्द्र लैजाने शर्तमा जिम्मा लिएर छुटाएका थिए। तर, त्यसपछि पनि उनका विवादित र भड्काउ अभिव्यक्ति रोकिएका छैनन्।
शनिबारको पत्रकार सम्मेलनमा झन् उग्र र हिंसात्मक अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई निगरानीमा राखेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस