after_navbar

प्रहरी कार्यालयबाट चोरिएको पेस्तोल १ लाखमा बिक्री, ५ जना पक्राउ


कार्तिक १७, २०८२


काठमाडौ,१६ कार्तिक। जेन–जी आन्दोलनपछि २४ भदौमा मच्चिएको अराजक घटनाको समयमा प्रहरी वृत्त स्वयम्भूबाट चोरी भएको पेस्तोल बिक्री–वितरणमा संलग्न पाँच जना पक्राउ परेका छन्।

ad

प्रहरीका अनुसार हातहतियार बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले धादिङ घर भई हाल काठमाडौं–१५ मा बस्ने २१ वर्षीय कृष्ण गुरुङ, भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारतीय नागरिक २४ वर्षीय अकबर खान, विजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र क्षेत्रपाटीमा पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय प्रभात मल्ललाई नियन्त्रणमा लिएको हो।

प्रहरी वृत्त स्वयम्भूका डीएसपी मोहनमणि अधिकारीका अनुसार कृष्ण गुरुङले २४ भदौमा प्रहरी वृत्तबाट पेस्तोल लुटेको खुल्न आएको छ। अनुसन्धानका क्रममा उनले उक्त पेस्तोल राजन देउलालाई दिएको र देउलाले त्यसपछि अकबर खानमार्फत बिक्री गर्न खोजेको खुलेको छ।

डीएसपी अधिकारीका अनुसार, ‘अकबर खानले ग्राहक खोजेर सुमिन शाक्यलाई ६५ हजार रुपैयाँमा पेस्तोल बिक्री गरेको पाइएको छ।’ त्यसपछि शाक्यले उक्त पेस्तोल प्रभात मल्ललाई १ लाख रुपैयाँमा पुनः बिक्री गरेको खुलेको छ।

प्रहरीले मल्लको पसलको चेन्जिङ रुमभित्र कपडाले बेरेर लुकाइएको अवस्थामा पेस्तोल फेला पारेको जनाएको छ। बरामद पेस्तोलसँगै त्यसमा लाग्ने म्याग्जिन र १५ राउन्ड गोली पनि भेटिएको छ।

पक्राउ परेकाहरूमाथि हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="