काठमाडौ,९ मंसिर ।नेपाल जेनजी फ्रन्टले प्रवासी नेपालीहरूलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन माग गर्दै सोमबार निर्वाचन आयोगमा तीन बुँदे मागपत्र बुझाएको छ।
फ्रन्टका प्रतिनिधि बिनिता बोगटी, अमृता बनलगायतले निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई उक्त मागपत्र हस्तान्तरण गरेका हुन्।
फ्रन्टले विदेशमा बसोबास गर्ने नेपाली नागरिकका लागि दूरवर्ती मतदान (remote voting) प्रणाली वा अन्य उपयुक्त वैकल्पिक व्यवस्था तत्काल लागू गर्नुपर्ने उल्लेख गरेको छ।
यससँगै, रोजगारी, शिक्षा तथा अन्य कारणले गृहजिल्लाबाहिर बसेर काम गर्ने नागरिकलाई समेत सहज रूपमा मतदान गर्ने वातावरण बनाउन आग्रह गरिएको छ।
मागपत्रमा भनिएको छ, “देशभित्रै एक जिल्लाबाट अर्को जिल्लामा बसोबास गर्ने नागरिकको संख्या उल्लेखनीय छ, तर उनीहरू पनि मताधिकारबाट व्यवहारिक रूपमा वञ्चित छन्।”
फ्रन्टले राज्यले कानूनी र प्राविधिक जटिलताको बहाना दिँदै नागरिकलाई संविधानले प्रदत्त मताधिकार उपयोग गर्न नदिएको आरोप पनि लगाएको छ।
त्यस्तै, विश्वभर रहेका नेपालीसम्म पुग्ने गरी मतदान–शिक्षा तथा जनचेतना कार्यक्रम डिजिटल माध्यममार्फत सञ्चालन गर्नुपर्ने माग पनि राखिएको छ।
प्रतिक्रिया दिनुहोस