काठमाडौँ,२५मंसिर। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार सम्पन्न भएको १० बुँदे सम्झौतालाई अनुमोदन गर्दै, सम्बन्धित मन्त्रालयमार्फत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता जगदीश खरेलले सम्झौतालाई नेपाल राजपत्रको अतिरिक्ताङ्कमा प्रकाशित गरिने जानकारी दिए।
बैठकले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय पनि गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयानबारे दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा मन्त्री खरेलले विस्तारित कार्यक्षेत्रसहित आयोगले कानुनअनुसार आफ्नो काम गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सम्पत्ति तथा भौतिक संरचनाको पुनःमूल्याङ्कन र पुनर्निर्माणका लागि गठित समितिको प्रतिवेदन बैठकमा प्रस्तुत गरिँदै प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरिएको थियो।
बैठकले न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ। साथै, समाजकल्याण परिषद्का रिक्त सदस्यसचिव पदमा पनि नयाँ नियुक्ति गरिएको मन्त्री खरेलले बताए।
प्रतिक्रिया दिनुहोस