दाङ, २६ मंसिर। घोराहीमा सञ्चालित गोर्खा लोटस बुट क्याम्पले औपचारिक कार्यक्रममार्फत आफ्नो तालिम सेवा शुभारम्भ गरेको छ। मंसिर १ गतेबाट कक्षा सञ्चालनमा ल्याइसकेको क्याम्पको उद्घाटन गरिएको हो।
क्याम्पका अध्यक्ष तथा सञ्चालक बलबहादुर बुढाले दूरदराजबाट तालिम लिन आउने युवालाई लक्षित गर्दै सुविधासम्पन्न होस्टेलको व्यवस्था गरिएको जानकारी दिए। सुरक्षित, अनुशासित र प्रेरणादायी वातावरणमा युवालाई प्रतिस्पर्धी बनाउन क्याम्प प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उद्घाटन समारोहका प्रमुख अतिथि दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले रिबन काटेर उद्घाटन गरेका थिए। उनले क्याम्पको पहललाई प्रशंसनीय भन्दै युवालाई सही दिशामा लैजाने यस्ता तालिम केन्द्र अत्यावश्यक रहेको बताए। “शारीरिक र मानसिक रूपमा सक्षम बनाउँदै राष्ट्रसेवामा अग्रसर गराउने प्रयास महत्वपूर्ण छ,” उनले भने।
विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रा. डा. सुदिप गौतमले युवालाई राष्ट्रको मेरुदण्ड भन्दै अनुशासन र मार्गदर्शनको आवश्यकता औंल्याए। “क्याम्पले युवामा आत्मविश्वास, अनुशासन र सकारात्मक सोच विकास गर्न मद्दत गर्छ,” उनले बताए।
सञ्चालक बुढाका अनुसार क्याम्पले युवालाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ब्रिटिश आर्मी र सिङ्गापुर पुलिस फोर्स जस्ता सुरक्षासम्बन्धी सेवामा प्रतिस्पर्धी बनाउन लक्ष्य राखेको छ। स्थानीय तथा बाहिरी जिल्लाबाट आउने प्रशिक्षार्थीका लागि सुलभ शुल्कमा होस्टेल, खाना र अन्य सुविधाको व्यवस्था गरिएको पनि उनले बताए।
क्याम्पमा अनुभवी प्रशिक्षकद्वारा वैज्ञानिक र व्यवस्थित तालिम प्रदान गरिने, युवालाई रोजगार, सेवा तथा नेतृत्व क्षमतातर्फ प्रेरित गरिने र स्थानीय संघ–संस्था तथा समुदायसँग सहकार्य गर्दै क्षेत्रीय विकासमा योगदान पुर्याइने जानकारी दिइयो।
कार्यक्रममा पूर्व प्रहरी नायव निरीक्षक तथा भूतपूर्व प्रहरी संगठनका कोषाध्यक्ष घनश्याम केसी, समाजसेवी रुपक थापालगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन पत्रकार दीपक वलीले गरेका थिए।
घोराहीमा सुरु गरिएको गोर्खा लोटस बुट क्याम्प दाङका युवाका लागि रोजगार, कौशल विकास र सुरक्षासम्बन्धी सेवामा प्रवेशका अवसरहरू विस्तार गर्दै समुदाय निर्माणको नयाँ सुरुवातका रूपमा उदाएको आयोजकहरूले विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस