दाङ, १५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना बलियो बनाउँदै मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।
गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले ‘विविधतामा एकता’ भन्ने नेपाली समाजको साझा मूल्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले लुम्बिनी प्रदेश भूगोल मात्र नभई भाषा, संस्कृति, कला र सभ्यताका दृष्टिले पनि विविधतायुक्त रहेको उल्लेख गरेका छन्। बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा मनाइने तमु ल्होसारजस्ता पर्वहरूले सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई बलियो बनाउने उनको भनाइ छ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भाषा, संस्कृति, सभ्यता र लिपिहरूको संरक्षण तथा प्रबर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिएका छन्। प्रदेशभित्र रहेका सबै भाषा र सांस्कृतिक पहिचानको संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न भाषा ऐन निर्माणसम्बन्धी छलफल अगाडि बढाइएको पनि उनले स्पष्ट पारे।
सबै धर्म, संस्कृति, परम्परा र सांस्कृतिक अभ्यासलाई समान दृष्टिकोणका साथ सम्मान गर्ने नीति प्रदेश सरकारको स्पष्ट प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले मौलिक संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक तथा सामाजिक रूपमा समृद्ध प्रदेश निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
प्रदेश सरकारले अघि सारेको ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न तमु ल्होसार पर्वले सबैमा नयाँ उत्साह, ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै मुख्यमन्त्री आचार्यले तमु समुदायसहित सम्पूर्ण प्रदेशवासीको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस