बांके,१८पुस । नेपालगन्ज उद्योग वाणिज्य संघले तस्करी नियन्त्रण गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई सात बुँदे ज्ञापन पत्र बुझाएको छ।
बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा सीमावर्ती भारतीय बजार रुपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जस्तै जमुनाहा नाकामा पनि परिचय पत्र चेकजाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने माग गरिएको छ।
साथै सम्भावित तस्करी हुने स्थानमा ब्यारियर राखी सशस्त्र प्रहरीको अस्थायी पोस्ट स्थापना गर्नुपर्ने, पैदल रिक्साको सीमा वारपार आवतजावत रोक्नुपर्ने माग उल्लेख गरिएको छ।
यसैगरी सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडाका छोटी भन्सार पुनः सञ्चालन गर्नुपर्ने माग पनि संघले गरेको छ।
ज्ञापन पत्रमा जमुनाहा नाकामा स्क्यानर मेसिन राखी अनिवार्य चेकजाँच गर्नुपर्ने, नेपालगन्ज भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको विषयमा अध्ययन गर्नुपर्ने तथा अवैध आयात–निर्यातमा संलग्न प्रहरी, प्रशासन र भन्सार कर्मचारीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ।
ज्ञापन पत्र बुझ्दै मन्त्री अग्रवालले तस्करी र क्यारिङ नियन्त्रण गर्न नसके सम्बन्धित प्रहरी प्रशासनमाथि कारबाही गरिने बताए। उनले यस विषयमा प्रहरी र प्रशासनका उच्च अधिकारीहरूलाई पटक–पटक निर्देशन दिँदै आएको र फेरि पनि तस्करी रोक्न निर्देशन दिने बताए।
सीमा नाकामा भइरहेको तस्करी र अवैध आयातप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री अग्रवालले यस विषयमा संघीय सरकार, गृह मन्त्रालय र प्रहरी महानिरीक्षकसँग पनि कुरा गर्ने जानकारी दिए।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले सीमा नाकामा कडाइ नहुँदा नेपालगन्जको व्यापार व्यवसाय प्रभावित हुँदै गएको भन्दै तस्करी र अवैध आयात रोक्नुपर्ने बताए।
सो अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कन्हैयालाल टन्डन, शतिशचन्द्र अग्रवाल, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई सम्मान गरिएको थियो। संघको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस