दाङ,२५ वैशाख। तुलसीपुर उपमहानगरपालिकाले पशुपालक किसानलाई लक्षित गर्दै ‘काउ म्याट’ वितरण गरेको छ। पशुको स्वास्थ्य सुधार र उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०९ वटा म्याट वितरण गरिएको हो।
शुक्रबार उपमहानगरका १७ जना व्यावसायिक पशुपालक किसानलाई म्याट हस्तान्तरण गरिएको पशु सेवा शाखाले जनाएको छ। प्रति म्याट ६ हजार ४ सय रुपैयाँ पर्ने भए पनि किसानलाई आधा मूल्यमा उपलब्ध गराइएको पशु सेवा शाखा प्रमुख डा। मनोज वलीले जानकारी दिए।
उनका अनुसार पक्की खोरको भुईँ चिसो हुने भएकाले पशुलाई त्यसबाट जोगाउन काउ म्याट उपयोगी हुन्छ। आरामदायी वातावरणले मात्र राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ।
नगरप्रमुख टिकाराम खड्काले किसानको मागअनुसार कार्यक्रम ल्याइएको बताउँदै विगतमा चिसोका कारण गाईभैंसी मरेर किसानले ठूलो क्षति बेहोर्नुपरेको स्मरण गर्दै यसलाई ध्यानमा राख्दै यसपटक म्याट वितरण गरिएको उनले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले बजेट निर्माण गर्दा किसान केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए। आगामी दिनमा पनि कृषि र पशुपालन क्षेत्रमा सहयोग बढाइने उनको प्रतिबद्धता छ।
अनुदानमा म्याट पाएपछि किसानहरूले खुसी व्यक्त गरेका छन्। किसान शशीराम बुढाथोकीले यसले पशुलाई चिसोबाट जोगाउन सहयोग पुग्ने बताए।
प्रतिक्रिया दिनुहोस