मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायर बीच भेटवार्ता
१ घण्टा अगाडि
दाङ,३१ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर बीच सिष्टाचार भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धिका लागि प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका हुने बताए। उनले दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन र सीपमूलक शिक्षामार्फत आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गरे।
उनले संघीयता सुदृढीकरणमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै प्रदेशको भूमिका अझ विस्तार गर्नुपर्नेमा जोड दिए। अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी पनि उनले गराए।
मुख्यमन्त्री आचार्यले सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच गोलमेच सम्मेलन आयोजना गर्ने र साझा छलफलको वातावरण निर्माण गर्ने तयारी भइरहेको बताए। साथै, संघीय शासन प्रणाली प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय सुदृढ हुनुपर्ने उनको भनाइ थियो।
भेटमा मायरले नेपाल र स्विट्जरल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध उल्लेख गर्दै संघीयता सुदृढीकरण, नवप्रवर्तन र प्राविधिक शिक्षामा सहकार्य निरन्तर रहेको बताए।
भेटवार्तामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री र प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लिराज अर्याल लगायतको सहभागिता रहेको थियो।
भेटका क्रममा नेपाल–स्विट्जरल्याण्ड सम्बन्ध, नवप्रवर्तन, प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादनका विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस