स्वास्थ्य बिमा कार्यक्रममा १८ अर्बभन्दा बढी भुक्तानी बाँकी
७ घण्टा अगाडि
काठमाडौ,१४ जेठ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा १८ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी बाँकी रहेको देखिएको छ।
स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, बिमा दाबी भुक्तानी समयमा हुन नसक्दा बक्यौता बढ्दै गएको हो।
मन्त्रालयले सार्वजनिक गरेको चैत मसान्तसम्मको विवरणअनुसार नेपाल सरकारबाट प्राप्त ११ अर्ब ७५ करोड रुपैयाँमध्ये हालसम्म करिब १२ हजार दाबी भुक्तानी गरिएको छ। यद्यपि, अझै १८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ।
बक्यौता रकम बढ्दै जाँदा अस्पताल तथा स्वास्थ्य संस्थाहरूले आर्थिक दबाब झेल्नुपरेको र बिमित सेवामा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
मन्त्रालयले भने अनलाइन प्रणालीमार्फत व्यवस्थापन सुधार, दोहोरो दाबी नियन्त्रण तथा विपन्न नागरिकसम्म सेवा पहुँच विस्तार गर्ने काम भइरहेको जनाएको छ। साथै, बिमा दुरुपयोग रोक्न कानुनी र प्राविधिक सुधारका प्रयास पनि अघि बढाइएको छ।
समयमै भुक्तानी फर्छ्यौट नगरे कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन स्थायित्वमा समस्या आउन सक्ने मन्त्रालयको निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस