after_navbar

एक महिनामै ११३ जनाको मिर्गौला पत्थरीको शल्यक्रिया


१३ घण्टा अगाडि


दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै ११३ जना मिर्गौलाको पत्थरीका बिरामीको सफल शल्यक्रिया गरिएको छ। प्रतिष्ठानका अनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागमार्फत यी शल्यक्रिया सम्पन्न भएका हुन्।

सोही अवधिमा ५०५ जना बिरामीले युरोलोजी ओपीडी सेवा लिएका छन् भने ६१ जनालाई भर्ना गरेर उपचार गरिएको छ। प्रतिष्ठानमा युरोलोजिस्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा साना–ठूला शल्यक्रिया गर्दै आएको छ।

प्रतिष्ठानका अनुसार दैनिक ७० भन्दा बढी बिरामीले युरोलोजी ओपीडीबाट परामर्श तथा उपचार सेवा लिइरहेका छन्। यसअघि जिल्लामै यस्तो सेवा नहुँदा बिरामीहरू अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो। अहिले भने अत्याधुनिक उपकरणसहित सेवा सुरु भएपछि स्थानीयलाई सहज भएको छ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरी, पिसाब नलीसम्बन्धी समस्या, अण्डकोषसम्बन्धी समस्या लगायतका रोगको उपचार प्रतिष्ठानमै भइरहेको छ।

प्रतिष्ठानका निमित्त प्रमुख डा. सुरेश रसाइलीले सेवा प्रभावकारी बन्दै गएको र स्थानीयमै विशेषज्ञ उपचार पाउँदा बिरामीहरू सन्तुष्ट रहेको बताए। साथै, सेवा विस्तारका लागि वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालसँग सहकार्य सुरु गरिएको जनाइएको छ। यद्यपि, भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीका रूपमा रहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="