अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधन नियन्त्रणमा
६ घण्टा अगाडि
दाङ,२५ जेठ । प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना गराएको छ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले जेठ २१ देखि २५ गतेसम्म सञ्चालन गरेको निगरानी तथा अनुगमन अभियानका क्रममा ३ वटा स्काभेटर (जेसिबी), २ वटा ट्रिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ती सवारीसाधन अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा ओसारपसारमा प्रयोग भइरहेको अवस्थामा फेला परेका थिए। नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
कारबाहीका क्रममा सवारीसाधनका सञ्चालक तथा सम्बन्धित व्यक्तिबाट कुल ५ लाख १५ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। जरिवाना प्रक्रिया पूरा भएपछि सवारीसाधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको छ।
प्रहरीले नदी तथा खोलाबाट हुने अवैध उत्खनन र ओसारपसार नियन्त्रण गर्न नियमित निगरानी जारी राखेको जनाएको छ।
यस्ता गतिविधिले वातावरणीय असर पार्ने र प्राकृतिक स्रोतको दोहन बढाउने भएकाले नियन्त्रणलाई प्राथमिकता दिइएको छ। प्रहरीले अवैध गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस