चितवन,२१ असार । जंगली हात्तीको आक्रमणबाट चितवनमा आमाछोराको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको उक्त हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२३ बेलहट्टाका आमा र छोराको मृत्यु भएको हो।
शनिबार राति आफ्नै घरमा बसिरहेका बेला हात्तीले आक्रमण गर्दा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको वडा नं. २३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिए।
घटनापछि स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल भएको छ ।छलफलमा जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक पहल गर्ने, मृतक परिवारलाई निकुञ्जमार्फत उचित राहत उपलब्ध गराउने, घर निर्माणमा सहयोग गर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपाय तत्काल कार्यान्वयन गर्ने सहमति भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस