तुलसीपुरका एक युवकलाई शरीर बन्धक बनाएको आरोपमा पाँच जनाविरुद्ध मुद्दा
८ घण्टा अगाडि
दाङ,३१ साउन । दाङको तुलसीपुरमा एक युवकलाई शरीर बन्धक बनाएको आरोपमा पाँच जना विरुद्ध अभियोगपत्र दर्ता भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ भगवती टोलका १९ वर्षीय जीवन बिकलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता भएको हो।
सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा अभियोगपत्र दर्ता गरेको हो। घटनामा संलग्न रहेको आरोपमा शान्तिनगर गाउँपालिका-५ का नारायणप्रसाद श्रेष्ठ, तुलसीपुर-११ का २२ वर्षीय हर्कबहादुर वली र म्याग्दीका १८ वर्षीय पदमबहादुर छन्त्याललाई प्रतिवादी बनाइएको छ।
त्यस्तै, घोराही उपमहानगरपालिका-४ का २१ वर्षीय प्रेमकुमार बुढामगर र तुलसीपुर-२ का २० वर्षीय उत्तरकुमार कँवर क्षेत्रीलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरू भने फरार रहेको प्रहरीले जनाएको छ।
मिसिलअनुसार प्रतिवादीहरूले साउन ९ गते साँझ करिब ५ः४५ बजे जीवन बिकेलाई दुईवटा स्कुटरमा जबर्जस्ती राखेर तुलसीपुरका विभिन्न स्थान हुँदै जंगल क्षेत्रमा लगेका थिए। त्यहाँ डर-धम्की दिँदै कुटपिट गर्नुका साथै केही समय शरीर बन्धक बनाएर राखेको आरोप छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले प्रयोग भएका स्कुटर तथा सिसिटिभी फुटेजलाई प्रमाणका रूपमा अदालतमा पेस गरेको जनाएको छ।
सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता, २०७४ अनुसार अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा प्रतिवादीलाई सजाय र पीडितलाई उचित क्षतिपूर्ति भराउन मागदाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस