दाङ,२६ साउन। युवालाई नेतृत्व तहमा स्थापित गर्दै स्थानीय तहदेखि नीति निर्माण र निर्णय प्रक्रियासम्म उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवस- २०२६ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ तुलसीपुरमा आयोजित युवाका सवाल, सम्भावना र चुनौती विषयक अन्तरसंवादमा सहभागीहरुले युवा सहभागितालाई औपचारिकतामा सीमित नराखी निर्णय प्रक्रियामै उनीहरुको पहुँच स्थापित गर्नुपर्ने धारणा राखेका हुन्।
कार्यक्रममा युवाका समस्या पहिचान गरी उनीहरूको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिइएको थियो। युवालाई स्थानीय विकासका साझेदारका रूपमा अघि बढाउँदै उनीहरूका सवाल र आवश्यकताअनुसार कार्यक्रम तथा नीति निर्माण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
अन्तरसंवादमा युवाको भूमिका, अवसर, वातावरण संरक्षण, स्थानीय विकास तथा युवा लक्षित कार्यक्रमका विषयमा सरोकारवाला र विद्यार्थीबीच छलफल भएको थियो। दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी युवाहरूले सरोकारवालासँग विभिन्न प्रश्न राख्दै आफ्ना जिज्ञासा, समस्या र विचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व योजना आयोग उपाध्यक्ष नहकुल केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव ओली, पूर्व जिल्ला युवा परिषद् दाङका सुरेशकुमार रावत र पत्रकार लक्ष्मी आचार्य,डिभिजन वन कार्यालय दाङका प्रमुख विशेन्द्रराज सुवेदी, तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डे, फेकोफनकी पूर्व अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य भारती पाठक,फेकोफन लुम्बिनीका महासचिव शोभाकर सापकोटा लगायतका संवादमा सहभागिता जनाएका थिए।
पहिलो चरणको छलफल कार्यक्रम पत्रकार गोपाल शर्मा भट्टराईले सहजीकरण गरेका थिए भने दोस्रो चरणको कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का केन्द्रीय लेखा संयोजक संगित बस्यालले गरेका थिए।
कार्यक्रममा तुलसीपुर सेन्टर मावि, गोरखा मावि, हिमाल, ज्ञानज्योतिलगायत विद्यालय तथा क्याम्पसका विद्यार्थी सहभागी थिए। करिब १२० जना युवा तथा विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ।
छलफलका क्रममा युवाले शिक्षा, रोजगारी, अवसर, स्थानीय विकास तथा वातावरण संरक्षणलगायत विषयमा सरोकारवालासँग प्रश्न राखेका थिए। युवाका सवाललाई सम्बोधन गर्न उनीहरूको आवश्यकता र समस्याको पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए।
युवाको नेतृत्व विकासका लागि अवसर सिर्जना गर्दै स्थानीय तहका योजना निर्माणदेखि कार्यान्वयन र निर्णय प्रक्रियासम्म उनीहरूको सहभागिता बढाउनुपर्ने विषय पनि छलफलको महत्वपूर्ण पक्ष बनेको थियो। युवालाई निर्णय प्रक्रियामा सहभागी गराउन सके उनीहरूका सम्भावना र क्षमतालाई स्थानीय विकासमा प्रभावकारी रूपमा उपयोग गर्न सकिने सहभागीको धारणा थियो।
कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, नगर युवा सञ्जाल, नगर युवा परिषद्को आयोजनामा तथा महिला पुनर्स्थापना केन्द्र (ओरेक)को सहकार्यमा सम्पन्न भएको हो।
युवा परिषद्का उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जालका सदस्य केबी ओलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गरेका थिए
प्रतिक्रिया दिनुहोस