जाजरकोट, ३१ साउन । अविरल वर्षापछि जाजरकोटमा पहिरो गएको छ। जिल्लाको भेरी नगरपालिका-२ रिसाङमा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।
पहिरोमा परी भेरी-२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
यस्तै पहिरोमा परी भेरी-२ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की र ४५ वर्षीय सिद्धिबहादुर कामी तथा भेरी-११ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक घाइते भएका छन्।
घाइतेमध्ये रामबहादुर शाहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।
बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा खटिएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ।
पहिरोका कारण भेरी नगरपालिका-३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। सोही ठाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस