after_navbar

एक महिनापछि २२ हात्तीको समूह भारत फर्कियो


२ मिनेट अगाडि


काठमाडौ,२२ भदौ। एक महिनादेखि झापाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियन्ता शङ्कर लुइँटेलले बताएका छन्।

बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगरलगायत आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो। हात्तीले स्थानीयका घर भत्काउने, खेतमा लगाइएको धान खाने तथा कुल्चिएर नष्ट गर्ने र सुपारीका बोट भाँच्ने गरेपछि झापाका उत्तरी–पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रास र तनावमा जीवन बिताउन बाध्य थिए।

एक महिनापछि भारतबाट आएको ठूलो हात्तीको हुल आफ्नै प्राकृतिक बासतर्फ फर्किएपछि स्थानीयवासीले केही राहत महसुस गरेका छन्। स्थानीय नीलकण्ठ तिवारीका अनुसार हात्तीको हुल फर्किएपछि स्थानीयमा रहेको त्रास केही हदसम्म कम भएको छ।

यद्यपि, आज बिहान बिर्तामोड नगरपालिका–७ मा एउटा एक्लो हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीयवासी पुनः त्रसित बनेका थिए। बिहानै घरआँगनमा हात्ती देखिएपछि स्थानीय भागाभाग गर्न बाध्य भएका थिए।

बस्तीमा करिब चार घण्टा घुमेको उक्त हात्ती पछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको पत्रकार पुष्प बरालले बताए।

झापामा भारतको आसाम तथा पश्चिम बङ्गालका जङ्गलबाट मेची नदी तरेर हात्तीहरू आहार र बासको खोजीमा बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गर्छन्।

स्थानीय तिवारीका अनुसार नेपाल-भारत सीमामा लगाइएको सोलार फेन्सिङ (बिजुलीको झट्का दिने तारबार)पुरानो र जीर्ण हुँदै गएकाले हात्तीहरू सहजै नेपाल प्रवेश गर्ने गरेका छन्।

झापामा बर्सेनि हात्तीको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउनुका साथै लाखौँ रुपैयाँबराबरको अन्नबाली र धनमालमा क्षति हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="