काठमाडौ। त्रिपुरेश्वरमा बस चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनालाई लिएर यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित भएका छन्। उनीहरूले घटनाको छानबिनसहित नौबुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएका छन्।
मंगलबार ६ वटा यातायात महासंघ तथा मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा चालक लामाले ट्राफिक प्रहरीको मानसिक दबाब र ज्यादती सहन नसकेर आत्मदाह गरेको दाबी गरिएको छ।
विज्ञप्तिअनुसार मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुग्दा आफ्नै साइडमा रहेको मोटरसाइकलले अवरोध गरेपछि चालक लामाले हर्न बजाएका थिए। हर्न बजाएको विषयमा ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेको र थप प्रहरी बोलाई यात्रुलाई ओरालेर करिब दुई घण्टासम्म बस नियन्त्रणमा लिएको संगठनहरूको दाबी छ।
लामाले आफ्नो गल्ती नभएको बताए पनि ट्राफिक प्रहरीले हप्काएको र बग्गीखाना जान दबाब दिएको विज्ञप्तिमा उल्लेख छ। घटनाबारे सम्बन्धित निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने मागसहित संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस