after_navbar

८ राउन्ड गोली चलाएर लागुऔषध कारोबारी पक्राउः दुई घाइते


५ मिनेट अगाडि


काठमाडौ। प्रहरीले मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन आठ राउन्ड गोली चलाएको छ। प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन्।

नेपाल-भारत सीमावर्ती क्षेत्र नजिकै भएको घटनामा प्रहरीले पेस्तोल, करिब आधा किलो खैरो हेरोइन र मोटरसाइकलसमेत बरामद गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गोली लागेर भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवैको घुँडामुनि गोली लागेको र उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका-१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन्।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली खटिएको थियो। राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका-६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो। तर, उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो।

डीएसपी मिश्रका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउन्ड गोली प्रहार गरेको थियो।

पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकलसमेत बरामद गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="