काठमाडौ। औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ प्रकारका औषधिको नयाँ आयात तथा उत्पादनमा रोक लगाएको छ।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार असोज २० गतेको निर्णयअनुसार सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, बिक्री वितरण दर्ता प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र र पैठारी सिफारिस पत्र खारेज गरिएको हो।
विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक मापदण्ड ‘टीआरएस’अनुसार आवश्यक मापदण्ड पूरा नगरेका औषधिमा रोक लगाइएको विभागले जनाएको छ। तर, बजारमा यसअघि नै बिक्री वितरण भइरहेका ती औषधिको बिक्रीमा भने रोक लगाइएको छैन।
विशेषगरी ‘इम्युनोसप्रेसन्ट’ वर्गका औषधिको गुणस्तर, सुरक्षा र एक औषधिबाट अर्को औषधिमा हुने दूषणको जोखिम न्यूनीकरण गर्न विभागले जोखिम मूल्याङ्कन गर्दै आएको छ।
विभागले जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि अनुमति पाएका उत्पादक तथा पैठारीकर्तालाई आयातसम्बन्धी प्रज्ञापनपत्र र मौज्दात विवरण तत्काल पेस गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस