डोल्पा,१६ माघ । आगलागीमा परि डोल्पामा ७५ वर्षीय एक वृद्धको मृत्यु भएको छ।जिल्लाको मुड्केचुला गाउँपालिका–४ ईलस्थित एक घरमा बुधबार बिहान भएको आगलागीमा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बादी सार्कीको घरमा आगलागी हुँदा उनको सुतेकै अवस्थामा जलेर मृत्यु भएको हो। अस्वस्थताका कारण घरभित्रै अगेनाको नजिक सुतेका सार्कीको ओढेको बल्ङ्केट चुलोमा परेर आगलागी भएको अनुमान गरिएको छ।
आगलागीबाट माटो, ढुङ्गा र काठले बनेको दुई तले घर पूर्ण रूपमा ध्वस्त भएको छ। घटनाको समयमा मृतकका ज्वाइँ र छोरी काम विशेषले खेतवारी गएका थिए।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहकार्यमा गोठमा रहेका पशुचौपायाको सकुशल उद्धार गरिएको छ। आगलागीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट थप टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले जानकारी दिएका छन्।
प्रहरीले आगलागीको थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस