after_navbar

निकुञ्जका कर्मचारीको गोली प्रहारबाट जंगली हात्तीको मृत्यु


माघ २४, २०८१


चितवन, २४ माघ – चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको गोली प्रहारबाट एक जंगली हात्तीको मृत्यु भएको छ। निकुञ्ज कार्यालयका अनुसार आत्मरक्षाका लागि गोली चलाउनु परेको अवस्थामा उक्त हात्ती ढलेको हो।

ad

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार दाह्रा नहुने भाले हात्ती ‘मकुना’ निकुञ्ज सुरक्षामा खटिएको हात्ती चुरे गजलाई आक्रमण गर्न आएको थियो।

बुधबार दिउँसो ३:३० बजे कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा मकुना हात्ती र निकुञ्ज सुरक्षाकर्मीहरूबीच जम्काभेट भएको थियो। हात्ती आक्रमणकारी बनेपछि कर्मचारीले पहिलो चरणमा दुई राउन्ड हवाइ फायर गरेका थिए।

तर हात्ती नभागी थप आक्रमण गर्न आएपछि थप तीन राउन्ड हवाइ फायर गरिएको निकुञ्जको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि मकुना केही पर भागे पनि पुनः फर्केर आएपछि एक राउन्ड गोली प्रहार गरिएको थियो।

निकुञ्जका कर्मचारीका मकुना ढलेको अवस्थामा भेटिएको थियो भने दुई घण्टापछि पशु चिकित्सक टोलीले मृत घोषणा गरेको थियो।

नेपालमा दाह्रा नहुने भाले हात्ती निकै दुर्लभ मानिन्छ। गत वर्ष मंसिरमा मकुना पहिलो पटक चितवनको कुमरोज क्षेत्रमा देखा परेको थियो भने यो वर्ष असोजदेखि निकुञ्ज क्षेत्र नजिकै देखिन थालेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="