सुर्खेत,२५ असोज । लोपोन्मुख राउटे समुदायको बस्तीमा प्रवेश गरी महिलामाथि दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई राउटे समुदायले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ।
शुक्रबार राति साढे १२ बजेतिर लेकवेशी नगरपालिका–५ नेटाका राजु रजाली राउटे बस्तीमा प्रवेश गरेका थिए। महिला मात्रै रहेको छाप्रोमा जबरजस्ती प्रवेश गरेपछि राउटे युवाहरूले उनलाई नियन्त्रणमा लिएका हुन्। राउटे समुदाय हाल लेकवेशी नगरपालिका–९ मा बसोबास गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोनजंग बुढाथोकीका अनुसार बस्तीमा प्रवेश गरेका युवकलाई राउटे समुदायले नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीको जिम्मा लगाइएको हो। उनले पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
राउटे समुदायसँग लामो समयदेखि काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीका अनुसार उक्त युवकले मध्य राति राउटे महिलामाथि जबरजस्ती गर्न खोजेपछि युवाहरूले नियन्त्रणमा लिएका थिए।
‘पहिले उनले राउटे युवतीलाई मदिरा सेवन गर्न लगाएका रहेछन्,’ खत्रीले भने, ‘राति ती युवतीको छाप्रोमा जबरजस्ती प्रवेश गर्दा युवती भागेर दाइको छाप्रोमा गइन्, त्यसपछि अन्य राउटे युवाहरूले उनलाई समाते।’
पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय लेकवेशीको टोलीले बिहान नियन्त्रणमा लिएको र घटनाबारे थप जानकारीका लागि राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, इन्सेक र मानव अधिकारकर्मीहरूको टोली बस्तीमा पुगेको खत्रीले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस