सप्तरी,२ कार्तिक । सप्तरीमा पुजारीको गोलि हानी हत्या गरिएको छ। जिल्लाको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको गोली हानी हत्या गरिएको हो।
७० वर्षीय साहलाई शनिबार राति अपरिचित हतियारधारी समूहले गोली प्रहार गरेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी डम्बर पुरीले जानकारी दिए।
प्रहरीका अनुसार साह आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेका बेला पछाडिबाट दुई गोली प्रहार गरिएको थियो। गोली नाभी नजिकै ढाडतर्फ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
घटना जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमान्डमा टोली पुगेको र घटनास्थल सुरक्षित पार्दै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेका छन्।
गोली प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोना दुवैतर्फबाट अतिरिक्त टोली खटाइएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि कडाइ गरी चेकजाँच तीव्र पारिएको छ। शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस