काठमाडौं ,३ कार्तिक । सुन भन्दै फलामको ढिक्का देखाएर एक महिलाबाट ७१ लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भई हाल काठमाडौंमा बस्दै आएकी ४६ वर्षीया गीता केसीलाई ठगी गरेको आरोपमा उक्त गिरोहलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार गत असोज २३ गते पीडित महिलालाई सुनको लोभ देखाई ११ लाख रुपैयाँ नगद र ६० लाख रुपैयाँको चेक लिएर उनीहरू फरार भएका थिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा असोज २९ गते काठमाडौंको सुन्धारास्थित ध्रुव पाटन होटलबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ का ६० वर्षीय कर्ण ध्वज लिम्बु, धनकुटाको चौबिसे गाउँपालिका–४ का ५९ वर्षीय मानबहादुर सुवेदी र ताप्लेजुङकै मैवाखोला गाउँपालिका–६ का ४० वर्षीय विरेन भन्ने राम लिम्बु रहेका छन्।
प्रहरी अनुसन्धानका क्रममा कर्ण ध्वज लिम्बु यसअघि पनि ठगी मुद्दामा धरौटीमा छुटेको र मानबहादुर सुवेदी ठगी मुद्दामै फरार रहेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट कालो–पहेंलो लेप लगाइएको तीन थान धातुका ढिक्का, सिद्धार्थ बैंक लिमिटेडको ६० लाख रुपैयाँको चेक एक थान र चार थान सिम कार्ड बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनामाथि ठगी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस