after_navbar

सर्वोच्चले तोडफोड र आगजनीमा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दिने


कार्तिक १२, २०८२



काठमाडौं, ११ कार्तिक । सर्वोच्च अदालतले देशभरका अदालतहरूमा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा औपचारिक जाहेरी दिने तयारी गरेको छ।

ad

गत आइतबार बसेको सबै न्यायाधीशहरूको पूर्ण बैठक ९फूल कोर्ट० ले अदालतमा भएको क्षतिको सम्बन्धमा कानूनी उपचार खोज्ने र प्रहरीमार्फत दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार जाहेरी लेख्ने काम भइरहेको छ। उनले भने, “जाहेरी लेख्ने क्रम चलिरहेको छ, भोलिसम्ममा जिल्ला प्रहरी परिसर काठमाडौंमा गएर जाहेरी दर्ता हुनेछ। अहिले कसैको नाम किटानी गर्न सकिएको छैन, अनुसन्धानबाट संलग्न व्यक्ति पहिचान गरी कारबाही गर्न प्रहरीलाई आग्रह गरिनेछ।”

जाहेरी दर्ता गर्ने काममा न्यायाधीशहरू प्रत्यक्ष संलग्न नहुने र सर्वोच्च अदालत प्रशासनका उच्च अधिकारीहरू—मुख्य रजिष्ट्रार वा रजिष्ट्रारहरूको नामबाट—जाहेरी पेश गरिने तयारी भएको छ।

जेन–जी आन्दोलनपछि भएको देशव्यापी तोडफोड र आगजनीका क्रममा रामशाहपथस्थित सर्वोच्च अदालत भवनमा ठूलो क्षति पुगेको थियो। करिब तीन दिनसम्म आगो निभ्न नसक्दा अदालतमा विचाराधीन करिब २० हजार मुद्दाका फाइल र फैसला भइसकेका करिब १ लाख ९७ हजार फाइल नष्ट भएका थिए।

त्यसैगरी, आगजनीका क्रममा अदालतमा रहेका ५० भन्दा बढी चारपांग्रे सवारीसाधन र डेढ सयभन्दा बढी मोटरसाइकल जलेर नष्ट भएका थिए। तीमध्ये केही सवारी साधन न्यायाधीश, कर्मचारी, सेवाग्राही र कानून व्यवसायीका रहेका थिए।

सर्वोच्च अदालत प्रशासनले जाहेरीमा केवल सर्वोच्च अदालत मात्र नभई देशभरका अदालतहरूमा भएको तोडफोड र क्षतिबारे पनि विवरण समावेश गर्ने तयारी गरेको छ। काठमाडौंमा रहेको सर्वोच्च अदालतसँगै विशेष अदालत र जिल्ला अदालत काठमाडौं पनि सोही आन्दोलनका क्रममा क्षतिग्रस्त भएका थिए।

सर्वोच्च अदालतले प्रहरीसँग तत्काल निष्पक्ष अनुसन्धान गरी संलग्नहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="