काठमाडौ,१४ कार्तिक। संस्थापन र इतर पक्षबीच महाधिवेशनको मितिलाई लिएर विवाद बढेपछि नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सुरु हुन नपाई स्थगित गरिएको हो।
अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
सूत्रका अनुसार, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमति नलिएरै महामन्त्री गगन थापाले मंसिरभित्र १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गर्ने तयारी गरिरहेका थिए।
महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले बिहान कार्यवाहक सभापति खड्कासँग भेटेर सहमति नपाए पनि कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिएका थिए।
स्रोतले जनाएको छ, कार्यतालिका प्रस्तुत गर्न नदिए आफू बैठकमै सहभागी नहुने धम्की पनि दिइएको थियो। बैठकमा द्वन्द्व बढ्ने जोखिम देखिएपछि कार्यवाहक सभापति खड्काले थप समय लिएर बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस