after_navbar

सुरक्षण मुद्रणका मेसिनबाट लाइसेन्स छाप्न सुरु


कार्तिक २२, २०८२


सरकारले अब सवारी चालक अनुमति–पत्र (लाइसेन्स) छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षा मुद्रण केन्द्रले शुक्रबारदेखि लाइसेन्स छपाइको काम सुरु गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट लाइसेन्स छपाइको औपचारिक शुभारम्भ गरेका हुन्। उनले कानुनी उल्झन र विभिन्न कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर छपाइ सुरु गरिएको बताए।

मन्त्री खरेलले भने, “वर्षौदेखि सुरक्षा मुद्रण केन्द्रका मेसिन थन्किएका थिए। मेसिन र पार्टपूर्जा सबै धुलाम्य थिए, ठाउँ नै खण्डहर जस्तो बनेको थियो। अहिले धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ।”

उनका अनुसार केन्द्रका मेसिनबाट अब राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, स्टिकर र हुलाक टिकट समेत छाप्न सकिनेछ। उनले थपे, “हाल २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ।”

यसअघि लाइसेन्स, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सामग्रीहरू विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिँदै आएको थियो। मन्त्री खरेलका अनुसार अब देशमै आवश्यक पूर्वाधार र स्रोत साधनको उपयोग गर्दै नीतिगत सुधारमार्फत छपाइ सुरु गरिएको हो।

सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले विभिन्न कानुनी र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए।

पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता अनुसार आजबाट काम सुरु भएको छ। सुरुमा दैनिक ५ सय प्रति छापिने र क्रमशः मात्रा बढाइने केन्द्रले जनाएको छ।

कार्यकारी निर्देशक ढुंगानाका अनुसार अबदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिसा स्टिकर पनि यही केन्द्रबाट छाप्न सकिनेछ। हालसम्म सुरक्षा मुद्रण केन्द्रमा करिब तीन अर्ब रुपैयाँ लगानी भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="