after_navbar

पूर्वमन्त्री अफताव आलमको निधन


कार्तिक २३, २०८२


काठमाडौ,२२ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ। एक महिनादेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचाररत ६३ वर्षीय आलमको शनिबार निधन भएको हो। उच्च रक्तचाप र मधुमेहका समस्या देखिएपछि उनलाई दशैंअघि अस्पताल भर्ना गरिएको थियो। पछिल्ला दिनमा स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो। कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारका क्रममा आलमको मृत्यु भएको पुष्टि गरेका छन्।

ad

आलमका छोरा डा. राजीक आलमका अनुसार केही समयअघि भारतको गुडगाँवस्थित मेदान्त अस्पतालमा पनि उनका बुवाको उपचार गरिएको थियो। भारतमा सुधार देखिएपछि घर ल्याइए पनि फेरि स्वास्थ्य बिग्रँदै गएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा लगिएको थियो। यसअघि नख्खु कारागारबाट छुटेपछि केही दिनमै मस्तिष्कघात भएको र माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएको थियो।

२०६४ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोटमा संलग्नताको आरोपमा आलमलाई जिल्ला अदालतले जन्मकैदको सजाय दिएको थियो। तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठमा उनलाई सफाइ दिएको थियो। त्यसपछि उनी नख्खु कारागारबाट छुटेका थिए। करिब छ वर्ष जेलजीवन बिताएपछि स्वतन्त्र बनेका आलम छुटेको केही दिनमै मस्तिष्कघात भएपछि फेरि अस्पतालमा भर्ना भएका थिए।

रौतहट क्षेत्र नम्बर २ बाट लगातार चारपटक सांसद निर्वाचित भएका आलम क्षेत्रका प्रभावशाली नेता मानिन्थे। उनी पहिलो संविधानसभा निर्वाचनदेखि नै त्यहाँको राजनीतिक शक्तिका रूपमा परिचित थिए। दोस्रो संविधानसभा निर्वाचनमा आफ्नै भान्जा मुस्ताक राजाबाट पराजित भए पनि २०७४ को संसदीय निर्वाचनमा पुनः जित हासिल गरेका थिए।

आलमले २०३६ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनका काका शेख इद्रिसको प्रेरणाले कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी २०४५ सालमा कांग्रेस रौतहटका जिल्ला सभापति बनेका थिए। उनी विभिन्न कालखण्डमा श्रम, वन, स्थानीय विकास र भूमिसुधारजस्ता मन्त्रालयमा राज्यमन्त्री र मन्त्री बने। आलमका दुई छोरा र एक छोरी छन्। जेठा छोरा डा. फिरदोस र कान्छा छोरा डा. राजीक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख हुन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="