after_navbar

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद: कर्मचारीमाथि कुटपिट


कार्तिक २५, २०८२


काठमाडौ,२४ कार्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ। असन्तुष्ट दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै त्यहाँका कर्मचारीलाई समेत कुटपिट गरेका छन्।

ad

मुख्यमन्त्रीको कार्यकक्षमा रहेका एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोज्दा भीडले उनलाई कुटेको भिडियो सार्वजनिक भएको छ। भिडले उनको टाउकोमा मुक्का प्रहार गरेको देखिन्छ। फाइल भुइँमा खसाएपछि अन्य कर्मचारीले उनलाई कोठाबाट बाहिर निकालेर ज्यान जोगाएका थिए।

मुख्यमन्त्री नियुक्तिको विवादपछि प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको र मधेश भवन अगाडि टायर बालेर प्रदर्शन समेत गरिएको छ।

आज बिहानै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका सांसदहरू मुख्यमन्त्रीको कार्यकक्षमा पुगेर तोडफोड गरेका थिए। यस क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा समेत फालिदिएका छन्।

यी दलका सांसद र कार्यकर्ताहरू एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान ४ बजे बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन्। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर बिदाइ पनि गरेका थिए। तर पछि उनी महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटल पानसमा पुगेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन्।

यस घटनापछि मधेशको राजनीति तनावग्रस्त बनेको छ। निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखले “मधेशको अस्मिता लुटेको” आरोप लगाएका छन्।

यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई स्वायत्त प्रदेश घोषणा गर्ने यही मौका भएको भन्दै सडकमै प्रदेशसभाको बैठक डाकेर स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="