काठमाडौ,९ मंसिर । जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित तीन युवक झापाको दमकबाट पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट २० राउण्ड गोली समेत बरामद गरेको छ।
जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेमा दमक–६ का विश्व लिङ्देन, दमक–९ का सरोज पुरी र इलाम चुलाचुली–४ का पवन हाङसुङ्वा छन्।
प्रहरीको संयुक्त टोलीले दमक–८ स्थित डेराबाट सरोज पुरीलाई नियन्त्रणमा लिन खोज्दा उनको साथबाट चाइनिज टाइप–५४ पेस्तोल एक थान र १५ राउण्ड गोली फेला पारेको थियो। प्रारम्भिक सोधपुछपछि पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ रहेको बताएका थिए।
त्यसपछि प्रहरीले विश्व लिङ्देनलाई पक्राउ गर्दा उनले सो हतियार पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकारे। सोही आधारमा प्रहरीले हाङसुङ्वाको खेतमा पुगेपछि खाल्डोमा पुरेर राखिएको अवस्थामा अरू १ थान पेस्तोल र ५ राउण्ड गोली फेला पारेको छ।
बरामद दुवै पेस्तोल र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस