after_navbar

देउवाको नेतृत्वमा कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गर्ने


पुष ०, २०८२


काठमाडौं,९ पुस । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन केन्द्रीय संसदीय समिति गठन गर्ने तयारी गरेको छ ।

ad

कांग्रेस विधानको दफा ३१ (घ) अनुसार केन्द्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । उक्त समितिको सभापति पार्टी सभापति नै रहने प्रावधान छ । विधानमा ‘संसदीय समिति’ भनिए पनि कांग्रेसभित्र यसलाई प्रायः ‘संसदीय बोर्ड’ भनेर चिनिने गरिएको छ ।

विधानअनुसार संसदीय समिति केन्द्रीय समितिले गठन गर्नुपर्ने भए पनि हालका लागि कार्यसम्पादन समितिमार्फत सभापति र कार्यवाहक सभापतिलाई समिति गठनको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबैसँग परामर्श गरेर छिट्टै संसदीय समिति गठन गर्ने सहमति बनिसकेको छ ।

यसअघि नै कांग्रेसले उम्मेदवारको आधिकारिक पत्रमा सभापति देउवाको हस्ताक्षर हुने व्यवस्था गरेको थियो । कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिइए पनि महत्वपूर्ण निर्णयमा देउवाको प्रभाव कायम रहँदै आएको बताइएको छ ।

कांग्रेस विधानअनुसार सभापतिको नेतृत्वमा रहने केन्द्रीय संसदीय समितिमा सबै पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ । त्यसबाहेक केन्द्रीय सदस्यमध्येबाट समावेशी आधारमा बढीमा ११ जनासम्म सदस्य राख्न सकिने प्रावधान छ ।

अघिल्लो निर्वाचनमा सभापति देउवाले आफू र पदाधिकारीबाहेक तत्कालीन नेता रामचन्द्र पौडेललाई मात्र समितिमा समेटेका थिए । यसपटक भने पदाधिकारीबाहेक डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालगायत नेताहरूलाई पनि संसदीय समितिमा समेट्ने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="