काठमाडौँ,१४ पुस। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेन्ससहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार राति मोेरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा हवाई फायर गर्दै एम्बुलेन्समार्फत तस्करी भइरहेको ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आइतबार राति करिब साढे ११ बजे धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई शंका लागेपछि रोक्न खोजिएको थियो। तर प्रहरी देख्नासाथ एम्बुलेन्स चालक र सवार व्यक्ति फरार हुन खोजेपछि प्रहरीले बाध्य भएर १ राउण्ड हवाई फायर गरेको जनाएको छ।
घटनापछि एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए। एम्बुलेन्सभित्र लुकाएर राखिएको करिब ४८० किलो गाँजा पनि बरामद गरिएको छ।
यसअघि शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा प्रहरीले हवाई फायर गर्दै गाँजा तस्करीमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो। सो क्रममा ३३० किलो गाँजासहित २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुई दिनको अवधिमै ८ सय किलोभन्दा बढी गाँजा बरामद भएपछि मोरङ क्षेत्र गाँजा तस्करीको मुख्य ट्रान्जिट बन्दै गएको आशंका गरिएको छ। प्रहरीले एम्बुलेन्स, निजी सवारी र अन्य साधन प्रयोग गरेर हुने अवैध कारोबारमाथि कडाइका साथ निगरानी बढाइएको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस