after_navbar

गैरीगाउँको काठ गोदाममा भीषण आगलागी


पुष २२, २०८२


काठमाडौं । काठमाडौं महानगरपालिकाको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ। मंगलबार दिउँसो लागेको आगोका कारण गोदाम वरपर धुवाँको मुस्लो फैलिँदा स्थानीयवासी तथा नजिकैको विद्यालयमा त्रासको वातावरण सिर्जना भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गैरीगाउँमा रहेको काठ गोदाममा आगलागी भएको हो। आगलागीको कारणबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागी गोदामसँगै टाँसिएको लोयला स्कूलसम्म फैलिँदा विद्यालयभित्र रहेका विद्यार्थीबीच भागदौड मच्चिएको थियो। सुरक्षाका दृष्टिले विद्यालयका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, महानगर प्रहरी तथा दमकलको टोली परिचालन गरिएको छ। दमकलको सहायताबाट आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त नभए पनि गोदाममा भण्डारण गरिएको काठका सामग्रीमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ। आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको विस्तृत विवरण र कारणबारे थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="