काठमाडौं। निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसारको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता पुस ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची साँझ ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ।
मनोनयनपत्रविरुद्ध उजुरी दिने समय पुस ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। उजुरीमाथि छानबिन गरी पुस ७ र ८ गते मनोनयनपत्र तथा उजुरी उपर निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ।
यसैगरी, पुस ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारले पुस ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। उम्मेदवारी फिर्तापछि पुस ९ गते नै अन्तिम नामावली सार्वजनिक गरिनेछ। निर्वाचन आयोगका अनुसार पुस ९ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
निर्वाचन कार्यक्रम अनुसार मतदान पुस २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा हुनेछ।
आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघि अर्थात् पुस १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचार–प्रसार निषेध अवधि लागू हुने जानकारी दिएको छ।
मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरी निर्वाचन अधिकृतले मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र मतदातालाई निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र तोकिएको कार्यतालिकाको पालना गर्न आग्रह गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस