सल्यान ,२५ पुस। सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–७ पर्सेनी निवासी अन्दाजी ४२ वर्षीया धनसरी रावतको घर नजिकैको जंगलमा बाघको आक्रमणबाट मृत्यु भएको हो।
स्थानीयका अनुसार रावत शुक्रबार दिउँसो घर नजिकैको जंगलमा घाँस दाउरा काट्न गएकी बेला बाघले आक्रमण गरेको थियो। दिउँसो करिब ३:१५ बजे बाघले आक्रमण गरी उनलाई जंगलतर्फ तानेर लगेको बताइएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी घुईयाबारी, सल्यानबाट प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा दुई जनाको टोली स्थानीयवासीसँगै खोजतलासका लागि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। उक्त क्षेत्र प्रहरी चौकीबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्ने हरियाली सामुदायिक वन क्षेत्र हो।
प्रहरीका अनुसार खोजतलासका क्रममा साँझ करिब ५ बजे रावतको शव घरबाट करिब ५०० मिटर दक्षिणतर्फ हरियाली सामुदायिक जंगलमा फेला परेको हो। शवको बायाँ खुट्टा र मलद्वारको भाग बाघले खाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसअघि पनि दुई दिनअघि सल्यान–सुर्खेत सिमाक्षेत्रअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानी निवासी ५७ वर्षीया गंगा सारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो। एक साताभित्रै दुई जनाको बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।
स्थानीय पुरुषोत्तम भट्टराईले बाघले मानिसमाथि आक्रमण गरिसक्दा पनि समयमै खोजतलास र नियन्त्रणको पहल नहुँदा यस्तो दुःखद घटना दोहोरिएको भन्दै निकुञ्ज प्रशासनको लापरवाही रहेको आरोप लगाएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस