after_navbar

जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु


पुष २८, २०८२


काठमाडौ,२८ पुस । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

ad

मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले दुर्घटनामा ज्यान गुमाउने तीनै जना पुरुष रहेको जानकारी दिए ।

उनका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ र सनाखत गर्ने प्रयास भइरहेको छ । “दुर्घटना निकै भयानक छ, घटनास्थलमै तीन जनाको मृत्यु भएको पुष्टि भएको छ,” उनले बताए ।

जिपमा सवार यात्रुको संख्या यकिन हुन नसकेको भए पनि बाँकी सबै जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट निकै तल खसेकाले उद्धार कार्यमा केही कठिनाइ भए पनि प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको हो । दुर्घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="