काठमाडौं,२८ पुस । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् । बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था गरिएको छ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ । आह्वान गरिएको रकम बाँडफाँट गर्दा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी समितिले तोकेको रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ ।
राष्ट्र बैंकका अनुसार सो एकल ब्याजदरमा वा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीहरूलाई ऋणपत्र बिक्री गरिनेछ । यो कदम वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्दै मौद्रिक व्यवस्थापनलाई सन्तुलित राख्ने उद्देश्यले लिइएको राष्ट्र बैंकले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस