दाङ,२९ पुस । राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान जोड्ने पैयाँखोरे–राम्री सडक खण्ड स्तरोन्नति गर्न दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार पैयाँखोरे हुँदै हर्नेटीदेखि राम्रीसम्मको सडक खण्ड आगामी माघ ८ गतेदेखि माघ २५ गतेसम्म दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रूपमा बन्द रहनेछ ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टले यस सडक खण्डमा सडक चौडा गर्ने काम तीव्र गतिमा भइरहेको बताए । गत वर्ष राम्री–कपुरकोट सडक खण्डमा दिउँसो सवारी आवागमन बन्द गरेर काम गर्दा सहज भएको अनुभवका आधारमा यस वर्ष पनि सोही मोडालिटी अपनाइएको उनले जानकारी दिए ।
निर्माण अवधिभर साना तथा अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको जनाइएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार यात्रुहरूले पैयाँखोरिया–सातावास–किमुचौर–कपुरकोट सडक तथा तुलसीपुर–कालिमाटी–लुहाम सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्नेछन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस